बुटवल । उम्मेदवारले भाषण नै नगरी चुनाव जित्न सक्छन् ? विश्वमै यस्ता घटना विरलै होलान । तर रुपन्देही क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले चुनाव अवधिभर एक शब्द नबोली प्रतिनिधिसभा निर्वाचन २०७९ मा विजयी हुनुभयो । त्यो पनि राज्यको सम्पूर्ण सुरक्षा शक्ति हातमा भएका शक्तिशाली गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै ।
पोस्ट कोभिड समस्याका कारण भ्वाइस रेष्टमा रहेका बोहराले जनताका बीचमा सम्बोधन नै नगरी निर्वाचन जित्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको प्रतिनिधि सभाको निर्वाचन २०७९ अन्तर्गत गृहमन्त्री रहेका सत्ता गठबन्धनका उम्मेदवार खाणलाई ६ सय ८१ मत अन्तरले पराजित गर्नुभयो । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत ल्याउनुभयो ।
राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनैपनि औपचारिक कार्यक्रममा सम्बोधन गर्नुभएन । हाल चिकित्सकको सल्लाह अनुसार नै उहाँले ‘स्पीच थेरापी’ गरिरहनु भएको छ । सभा समारोहमा उपस्थित भएपनि उम्मेदवार वोहराले कहिंँपनि मन्तब्य राख्नुभएन । उहाँका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलाहरुमा मन्तव्य राख्नुभयो ।
बोहरा कोरोना महामारीको दोस्रो लहरमा चलेका बेला २०७७ जेठमा संक्रमित हुनुभएको थियो । तर, खासै समस्या देखिएको थिएन । “उहाँलाई त्यतिबेला ज्वरो, खोकी लगायतका सामान्य लक्षण मात्रै देखिएका थिए । घरमै बसेर आराम गर्दा ठीक भएको थियो”, राप्रपा नेता स्वाती थापाले भन्नुभयो ।
निर्वाचन अवधिभर बोहरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी हुनुभयो तर, कतै बोल्नुभएन । थापाका अनुसार बोहराले नै तीन दलीय नेताहरुलाई क्षेत्रभरि आफैं परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको छलफल गर्ने र कार्यक्रममा सहभागी भइरने काम गर्नुभयो ।
मतदाताका घरघरमा पुगेर भेटघाट गर्ने, हात हल्लाएर मतदातालाई अभिभावन गर्ने, मतदाताका कुरा सुनेर टाउको हल्लाउने काम मात्रै गर्नुहुन्थ्यो । चुनावी प्रचारको शुरुआतमा आफ्ना कुरा कागजमा लेखेर अरुलाई बोल्न लगाउने गरिएपनि पछि त्यो झन्झट भएपछि पार्टीका नेताहरुले नै सम्बोधनमार्फत बोहराका प्रतिबद्धता राखिदिने गर्नुभएको थियो ।
सबैतिर आफैं पुगे पनि मतदातासँग सिधा सवालजवाफ गर्न नपाउँदा बोहोरलाई असुविधा भएपनि पार्टीका नेताहरुले उहाँको आवाज मतदातासम्म पु¥याउने काम गर्नुभएको थियो ।
गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाँण र राप्रपाका नेता दीपक बोहरा अघिल्लो आमनिर्वाचनमा सहयात्री हुनुहन्थ्यो । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा चुनाव लड्नुभएको थियो । त्यसबेला बोहरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँड्नुभएका गृहमन्त्री खाँणले अहिले हार बेहोर्नुपर्यो ।
२०७४ मा आफू समानुपातिकमा बसेर खाँणले प्रत्यक्ष निर्वाचन लडेका बोहोराका लागि भोट माग्नुभएको थियो । तर त्यो बेला तत्कालीन एमाले नेता भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रत्यक्ष निर्वाचनमा विजयी हुनुभएको थियो ।
भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत प्राप्त गर्नुभएको थियो । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गर्नुभएको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी हुनुभएका नेता बोहोरा २०७४ मा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालसँग पराजित हुनुभएको थियो ।
वाम गठबन्धनका उम्मेदवार भुसाल ३२ हजार ८६६ मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेसको समर्थन पाएका बोहोराले २७ हजार ४२२ मत प्राप्त गर्नुभएको थियो । त्यतिवेला राप्रपा विभाजित थियो । वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत प्राप्त गर्नुभएको थियो ।
नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशील नेता वोहराको संसदीय यात्रा २०३६ सालदेखि शुरु भएको थियो । रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएका उहाँ २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यसअघि २०३८ र ०४० मा पर्यटन राज्यमन्त्री बन्नुभएका राप्रपा नेता बोहरा २०५७ मा बैंक अफ काठमाडौँको अध्यक्ष बन्न्नुभएको थियो । बोहरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बन्नुभएको थियो ।
त्यसपछि उहाँ २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका बोहोरा २०७२ मा श्रम तथा रोजगार मन्त्री हुनुभएको थियो । २०७३ सालमा आपूर्ति मन्त्री बन्नुभएका बाहोरा २०७४ मा स्वास्थ्य मन्त्री बन्ने अवसर पाउनुभयो ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका –३ खजहाना निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिनुभएको हो । बोहरा राजनीतिशास्त्रमा स्नातक हुनुहन्छ ।