दाङ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेख्रेलले सरकारले गरेका कामकाे मुल्यांकन जनताले गर्ने बताएका छन्। जिल्ला समन्वय समिति दाङकाे चाैथाे जिल्ला सभा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री पाेख्रेलले सरकारले गरेका कामलाई अझै जनता माझ लैजान नसकिएको बताए।
'काम गरेका छाैं, तर, जनता माझ लैजान सकेका छैनौं-उनले भने-जनता माझ परिवर्तन प्रति जनतामा विश्वास दिलाउन अझै सकिएको छैन। जनता माझ विश्वास दिलाउने काममा जनप्रतिनिधि खट्नुपर्छ।' राज्यले लगानी गर्ने तर, लगानी अनुसार काम नहुने प्रवृत्ति भएको भन्दै उनले नागरिक खबरदारी पर्ने बताए।
परिक्षण राेक्नु गम्भीर अपराध
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले काेराेना परिक्षण राेकेर गम्भीर अपराध गरेकाे टिप्पणी मुख्यमन्त्रीले गरेका छन। प्रयाेगशाला सञ्चालनकाे लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएको भएपनि प्रतिष्ठानले पालिकाहरुसँग पैसा मागेर परिक्षण राेक्नु गम्भीर अपराध भएको टिप्पणी गरे। 'साैदावाजी गरेर प्रयाेगशालाकाे सेवा राेक्नु गम्भीर अपराध हुन जान्छ-उनले भने-महामारी चलेकाे बेलामा त याे झनै गर्नै नहुने कार्य भयाे।'
जिल्ला सम्मन्वय समितिले सम्पन्न जनता समृद्ध दाङकाे नारा अघि सारेर जिल्ला सभा गरेकाे छ। कार्यक्रममा समन्वय प्रमुख जितेन्द्रमान नेपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरे।
स्थानीय तहमा तुलसीपुर प्रथम
जिल्ला समन्वय समितिले दाङका पालिकाहरुकाे मूल्यांकन गरेकाे छ। दश वटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिका प्रथम, राप्ती गाउँपालिका दाेस्राे र घाेराही उपमहानगरपालिका तेस्रो भएको छ।
सरकारी कार्यालयमा कृषि ज्ञान केन्द्र प्रथम, खानेपानी तथा सरसफाइ डिभिजन दाेस्राे र पूर्वाधार विकास कार्यालय तेस्रो भएको छ। मुख्यमन्त्री शंकर पाेख्रेलले उत्कृष्ट हुने स्थानीय सरकार र सरकारी कार्यालयलाई सम्मान पत्र प्रदान गरेका छन्।