रुपन्देही l लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले बुद्धजन्मस्थल लुम्बिनी ज्ञानको सागर भएकाले सबैले यसको फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनीको राजकीय बिहारमा आज आयोजित लुम्बिनी बौद्ध महिला समितिको प्रथम साधारण सभा तथा अधिबेशनमा बोल्दै उहाँले प्रदेशमा ऐतिहासिक महत्व बोकेको सम्पदा हुनु अत्यन्तै गर्वको विषय भएकाले यसको उचित प्रचार प्रसार आवश्यक भएकोमा जोड दिनुभयो ।
बुद्धको शिक्षालाई व्यवहारमा उतार्न सके जीवन परिवर्तन हुने बताउँदै उहाँँले आध्यात्मिक चिन्तनले व्यक्तिलाई सहि मार्गमा डोर्याउने उल्लेख गर्नुभयो । “विहार, गुम्बा ज्ञानको थलो हो । यहाँबाट बुद्ध दर्शन र शिक्षाबारे धेरै जानकारी हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो यो कार्यमा बौद्ध महिला समितको सक्रियता प्रशंसनीय छ ।”
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीलाई स्थानीयबासीसँग जोडन बौद्ध महिला समितिले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । “लुम्बिनीलाई जनतासँग जोड्न माध्यम चाहिन्छ । बौद्ध महिला समिति राम्रो माध्यम बन्न सक्छ । हामी अब यो समितिसँग मिलेर काम गर्छौ”, उहाँले भन्नुभयो ।
परिषद बैठकबाट लुम्बिनीमा नमुना गाउँ बनाउनेबारे निर्णय भएको जानकारी गराउँदै उहाँले यसबारे सबैको राय लिएर अघि बढ्ने बताउनुभयो ।
राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले बुद्ध शिक्षा जीवन जिउने कला भएको बताउनुभयो । सबै धर्म र सम्प्रदायका मानीस अटाउने थलो बुद्धधर्म भएको बतााउँदै उहाँले बुद्ध धर्म धर्ममात्र नभइ असल चिन्तन र व्यवहार भएकामा जोड दिनुभयो ।
उहाँले बौद्ध महिला समिति मार्फत लुम्बिनीमा धेरै गतिविधी भएको र लुम्बिनीलाई स्थानीयबासीसँग जोडन समितिले पुलको काम गरेको बताउनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा रहेर पनि बत्ति मुनिको अध्यारोमा रहेका महिलालाई बौद्ध महिला समितिले बुद्ध शिक्षा र दर्शनको महत्व बुझाउने र संगठित गर्ने काम गरेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका सहायक प्रमुख शारदा पौडेलले बुद्धको समयमा पनि महिलाहरुले बुद्ध धर्मको प्रचारमा सक्रियता देखाएको बताउँदै बुद्ध धर्म कुनै सम्प्रदायको मात्रै नभएर कसरी जीवन यापन गर्र्ने भन्नेबारे सिकाउने मुलमन्त्र भएको स्पष्ट पार्नुभयो ।
पर्यटन परिषदका सदस्य लिलामणी शर्माले बौद्ध महिला समितिले आफ्नो क्षेत्र विस्तार गरी अन्तरराष्ट्रिय स्तरमा उच्च छबि बनाउनुपर्ने बताउनुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी विकास र पर्यटन प्रवद्र्धनमा यस क्षेत्रका सबै संघ सस्था बीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा बौद्ध महिला समितिका सल्लाहकार तथा सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतम, समितका निवर्तमान अध्यक्ष युमनादेवी पौडेल, विष्णु बस्याल, टिका कटेल लगायतले बुद्धको शिक्षालाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिबेशनले विष्णु बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा टिका कटेल, उपाध्यक्षमा माया गुरुङ, सचिवमा इन्दु नेपाल, कोषाध्यक्षमा माया भुसाल र सहसचिवमा सुस्मिता अधिकारी रहनुभएको छ ।
सदस्यहरुमा सरिता गुरुङ, शारदा भण्डारी, मिरा गौतम, पुनम गुरुङ, हिमा थापा, मिना गुप्ता, मञ्जु खत्री, बसन्ती तामाङ, तारा चुँदाली, सृजना पंगेनी, शान्ति हरिजन, रिंका हरिजन र लक्ष्मी मिश्रा रहनुभएको छ ।