रुपन्देही । हरितालिका तिजको अवसर पारेर बुटवलमा आयोजना गरिएको मिस, मिसेस एण्ड थर्ड जेण्डर तिज २०७९ को उपाधि गंगा थापाले हात पार्नुभएको छ ।
इन्जोए लेडिज एण्ड जेन्स लाङघाली ब्युटि पार्लरको आयोजनामा मंगलबार सम्पन्न मिस, मिसेस एण्ड थर्ड जेण्डर तिजको फाइनलमा सात जना प्रतिस्पर्धीलाई पछि पार्दै थापाले उपाधि जित्नुभएको हो । थापाले नगद १० हजार सहित अन्य पुरस्कारहरु प्राप्त गर्नुभयो ।
प्रतियोगितामा फस्ट रनअप तेस्रो लिङ्गी महिला मोनिका श्रेष्ठ र सेकेण्ड रनरअप मिसेस सरस्वती थापा घोषीत हुनुभएको छ । श्रेष्ठले सात हजार र थापाले रु ५ हजार सहित अन्य पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा दर्शको रोजाइमा मिसेस बसन्ती थापाले उपाधि जित्नु भएको छ । प्रतियोगीतमा उत्कृष्ट नृत्यको उपाधि लिला गैरे र इभान पौडेलले प्राप्त गर्नुभएको प्रतियोगिताका सञ्चालक रेशम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापनमा प्रमुख अतिथि प्रदेश सभाका सदस्य दिपा विश्वकर्माले आत्मबल बढाउन यस्ता प्रतियोगिता सहयोगी बन्ने बताउनुभयो । उहाँले यौनिक तथा अल्पसंख्यक समुदायलाई समाजमा स्थापित गर्न विभिन्न समुदाय मिलेर साझा ढंगले यस्ता कार्यक्रम गर्नु खुशीको कुरा भएको बताउँदै यसले समाजमा नयाँ सन्देश दिने बताउनुभयो ।
उहाँले महिलाको हक र अधिकारका लागि आवाज उठाउने पर्वका रुपमा तिज मनाउनुपर्ने बताउनुभयो । “हिजोका दिनमा पीडा पोख्ने पर्वका रुपमा तीजलाई लिइन्थ्यो तर अहिले रमाइलोमा मात्रै केन्द्रिय छ”, उहाँले भन्नुभयो, “समाजमा हिंसा र विभेद कायमै रहेकाले यसका विरुद्ध आवाज उठाउनुपर्छ”, प्रदेश सभाका सदस्य विश्वकर्माले भन्नुभयो ।
प्रतियोगितामा सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतम, स्नेहा थापा र सायरा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कोरियोग्राफर अवान्तिका घर्तीद्वारा कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गराउन प्रशिक्षण दिइएको थियो ।
प्रतियोगीताको अवधिमा प्रतियोगीहरुमा आत्मबल बढेकाले आफुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहज हुने आयोजक इन्जोए लेडिज एण्ड जेन्स लाङघाली ब्युटि पार्लरका सञ्चालक रेखा थापाले बताउनुभयो । प्रतियोगितामा १५ जना महिला तथा तेस्रो लिङ्गी महिलाको सहभागिता थियो ।