काठमाडौँ–नेकपाका महासचिव विष्णु पौडेलले पार्टी फुटको नजिक पुगेपनि नफुट्ने दाबी गरेका छन्। पार्टीभित्र एक महिनाभन्दा लामो समयदेखि उत्पन्न विवादले विभाजन होला जस्तो देखिएपनि पार्टी विभाजन नहुने बताए।
बुधबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले पार्टी फुट्यो भन्ने अवस्थामा पुगेपनि नफुट्ने बताए। उनले भने, ‘पार्टी फुट्नका लागि डिल डिलमा पुगे पनि फुट्दैन। एकता कायम रहन्छ।’
नेकपामा विवाद समाधान हुँदा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओली नहट्ने महासचिव पौडेलले दाबी गरे। अध्यक्ष ओलीको पक्षमा उभिदै आएका पौडेलले नेकपामा तीनवटा कुरा फेरबदल नहुने प्रष्ट पारे।
उनले भने, ‘नेकपाको विवाद समाधान हुँदा तीनवटा कुरा निश्चित छ। पहिलो पार्टी विभाजन हुँदैन, दोस्रो ओलीजी पाँचै वर्ष प्रधानमन्त्री रहनुहुन्छ र तेस्रो एकता महाधिवेशन नहुन्जेलसम्म उहाँ पार्टीको अध्यक्षमै रहनु हुन्छ।’
पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रयास भइरहेको र त्यसको परिणाम छिट्टै आउने बताए। ‘हामी विवाद अन्त्य गरेर सहमतिका साथ अघि बढ्न अधिकतम कोसिस गरिरहेका छौं। निकट भविष्यमै यसको परिणाम आउनेछ,’ पौडेलले भने।