बुटवल । यहि फागनु २१ गते हुने प्रतिनीधि सभा निर्वाचनको मिति नजिकिँदै छ । दल र उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
ऐतिहासिक महत्व बोकेको बुटवल बजार समेत समेटिएको रुपन्देहीको क्षेत्र नं. २, औद्योगिक तथा आर्थिक विकास र मुलुक संघीय संरचनामा गएपछि सुरुमा राजधानी समेत भएको हिसाले निर्वाचनमा कसले जित्ला भन्ने आम नागरिकमा जिज्ञाशा छ । जिज्ञासा हुनु स्वभाविकै हो ।
यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी सहित २० जना दलका र १९ जना स्वतन्त्र गरि ३९ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
बुटवल उपमहानगरपालिकाको १ देखि १३ सम्मका वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाको १ देखि ४ सम्मका वडा गरि २३ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार ५० जना मतदाता छन् ।
यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट उद्योगी व्यवसायिक पृष्ठभूमिका पार्टीका महासमिति सदस्य चुन्नप्रसाद पौडेल चुनावी मैदानमा ओर्लिएका छन् । त्यसैगरी नेकपा एमालेबाट पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेद्वार बनेका छन् ।
नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट विश्वदिप पाण्डेसहित विभिन्न दल र स्वतन्त्र समेत गरि ३९ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् ।
यो निर्वाचन क्षेत्रमा मुख्यतया नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी चर्चामा छन् । आसन्न निर्वाचनमा रुपन्देही २ मा मुख्यतया नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बिच नै प्रतिस्र्पा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यो निर्वाचनमा काँग्रेसले एमाले र रास्वपा, एमालेले रास्वपा र काँग्रेस तथा रास्वपाले पनि काँग्रेस र एमालेलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरेका छन् ।
रुपन्देही–२ यस अंगाडि पटक पटक एमाले उपाध्यक्ष पौडेलले जित्दै आएको निर्वाचन क्षेत्र हो । चर्चामा रहेका काँग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी सहित धेरै उम्मेद्वार नयाँ छन् । २०७९ मा भएको निर्वाचनमा एमालेका पौडेलले झिनो मतले मात्रै विजय हासिल गरेका थिए ।
उक्त निर्वाचनमा अन्यदलहरुसंग गठबन्धन गरेको नेपाली काँग्रेसको उम्मेद्वार थिएन । रास्वपाको क्रेज ह्वात्तै बढेको थियो । मतदाताले रास्वपाका उम्मेद्वार गणेश पौडेललाई चिन्दै नचिनी भोट दिएका थिए । अहिले परिस्थिती अझै बदलिएको छ ।
यसपटक लामो समयपछि नेपाली काँग्रेसले आफ्नै उम्मेद्वार र आफ्नै चुनाव चिन्हमा निर्वाचन लड्न पाउँदा पार्टी कार्यकर्ता र समर्थकहरू उत्साहित देखिन्छन् । पटक पटक यसै निर्वाचन क्षेत्रबाट चुनाव जितेर पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसम्म बनेका एमाले उपाध्यक्ष पौडेल राजनीतिक उचाईका कारण पनि बलियो प्रतिस्पर्धी मानिन्छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले उपाध्यक्ष पौडेललाई कडा टक्कर दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेल पनि बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।
मतदातामा नयाँ दलप्रति देखिएको आकर्षणले शुलभको भन्दा पनि रास्वपाको चर्चा बढी छ । तर जेन–जी आन्दोलनका क्रममा आएका उनका अभिव्यक्तिले मतदातामा शंकोच सिर्जना गरेको छ । यस अंगाडि उनी रुपन्देहीको क्षेत्र नं. ३ मा चुनाव लड्ने चाहना राखेका थिए ।
तर पार्टी भित्रको आन्तरिक संघर्षका कारण उनलाई क्षेत्र नं. २ मा चुनाव लड्नुपर्ने बाध्याता आईपर्यो । उनी आफूले आफैलाई मत समेत दिन पाउने छैनन् । उनी क्षेत्र नं. ३ का मतदाता हुन् ।
निर्वाचन कसले जित्ला भन्ने हेर्नका लागि फागुन २१ गते कुर्नै पर्ने हुन्छ ।