काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको दाबी गर्दै त्यो सन्देश जनतासम्म पुर्याउन कार्यकर्तालाई सुझाएका छन् । मंगलबार राति एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले भोट माग्न जाँदा बदलिएको कांग्रेसबारे भन्नुपर्ने मुख्य चार कुरा कार्यकर्तालाई सुझाएका हुन् ।
‘कांग्रेस बदलिएको भन्नुको अर्थ के हो ? यसमा हामी लामो व्याख्या दिनसक्छौँ । तर, सम्झिनेकुरा थोरै हुन्छन्,’ सभापति थापाले भने, ‘त्यसैले मतदाताका बीचमा चार वटा कुरा मात्रै भन्नुपर्छ ।’
पहिलो- इतिहासप्रति गौरव गर्छ
पहिलो कुरा बदलिएको कांग्रेसले इतिहासप्रति गौरव गर्ने कुरा जनतासमक्ष भन्न सभापति थापाले सुझाएका छन् । ‘संघर्षका ती दिनहरूलाई बडो गौरवका साथ स्मरण गरौँ । त्यससँग हामीले प्रेरणा लिन्छौँ,’ उनले भने, ‘चाहे २००७ साल होस्, चाहे २०४६ साल होस्, चाहे २०६२/६३ होस् ।’ तर त्यसैमा अड्किएर नबस्ने उनले बताए ।
‘जरा यसको फैलिएको छ । तर, दृष्टि भविष्यतिर छ । २०८२ को कांग्रेसले ०८४, ०८८ तिर हेर्छ । यसले भविष्यतिर हेर्छ,’ सभापति थापाले भने ।
दोस्रो-सत्ताको लागि सिद्धान्तसँग सम्झौता गर्दैन
सभापति थापाले बदलिएको कांग्रेसले सत्ता र सरकारको लागि सिद्धान्तसँग सम्झौता नगर्ने कुरा मतदातासम्म पुर्याउन कार्यकर्तालाई सुझाए ।
‘सत्तामा टिक्नका लागि कुनै सिद्धान्तहीन नाजायज सम्झौता गर्दैन यसले,’ उनले भने । बरु भुइँमा बस्ने, सरकारबाहिर बस्ने उनले बताए ।
‘सिद्धान्तमा अडिएर बस्छ, पवित्र भएर बस्छ । तपाईँले बताउँने दोस्रो कुरा हो यो,’ कार्यकर्तालाई उनले भने ।
तेस्रो- भागबण्डाको राजनीति गर्दैन
बदलिएको कांग्रेसले अब चुनाव अगाडिको भागबण्डाको राजनीति मात्र नभई अर्को ठाउँमा पनि भागबण्डाको राजनीति नगर्ने कुरा बताउन सभापति थापाले कार्यकर्तालाई निर्देशन दिए । ‘भागबण्डा जहाँ अवैध छ, चाहे संवैधानिक अड्डा होला, अदालत होला, कहीँ पनि भागबण्डा गर्दैन् । जहाँ पार्टी आउँदैन् भन्ने छ,’ उनले भने, ‘कानुनले पार्टी बर्जित भनेको छ, त्यहाँ जाँदैन । ती सबै ठाउँलाई पवित्र राख्छ । त्यो बताउनुहोला ।’
चौथो- नैतिकता प्रदर्शन
बदलिएको कांग्रेसका प्रत्येक कार्यकर्ता खासगरी पद हासिल गर्नेहरूले उच्च नैतिकता प्रदर्शन गर्ने पनि सभापति थापाले बताए । उनले भने, ‘खासगरी मन्त्री, प्रधानमन्त्री जस्ता उच्च पदमा बसेकाहरूले नैतिकता प्रदर्शन गर्नुपर्नेछ । राजनीति पेशा होइन, सेवा हो ।’
राजनीति अब क्षमता र काम गरिरहेका आधारमा कांग्रेसमा मूल्यांकन हुने पनि उनले बताए । ‘कांग्रेस अनुभवीको पनि हुन्छ, युवाको पनि हुन्छ,’ उनले भने ।