बुटवल । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका लागि नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन् ।
‘सद्भाव, सुशासन, समृद्धि हाम्रो संकल्प’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले क्षेत्रका दीर्घकालीन समस्या समाधान गर्दै विकास र समुन्नतिको आधार तयार गर्ने योजना अघि सारेका छन् । मंगलबार रुपन्देहीको सैनामैना ३ मा भएको घरदैलोको क्रममा प्रचारप्रसार कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
शिक्षा र स्वास्थ्यमा विशेष जोड
उम्मेदवार शर्माले सरकारी विद्यालयको स्तर उकास्दै कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गरिने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै उपचार सेवामा सहज पहुँच विस्तार गरिने उनको योजना छ ।
रुपन्देही-२ भित्रका सरकारी अस्पतालको स्तरोन्नति गर्दै बीमा अन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सुविधा प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
पूर्वाधार र आधारभूत सेवामा सुधार
क्षेत्रभित्र शुद्ध खानेपानीको व्यवस्था, अव्यवस्थित जग्गा व्यवस्थापन, विद्युत् तथा हाइटेन्सन लाइन व्यवस्थापनमा पहल गरिने जनाइएको छ । पूर्व-पश्चिम राजमार्ग विस्तारका कारण देखिएका समस्या समाधान, नदी किनार व्यवस्थापन तथा हरियाली प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन् ।
त्यसैगरी, राष्ट्रियस्तरको खेल मैदान निर्माण, आवश्यक स्थानमा चार्जिङ स्टेसन स्थापना र सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
कृषि, उद्योग र रोजगारी
कृषिमा आधुनिकीकरण, मल-बीउको सहज आपूर्ति र उत्पादनमुखी कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्ने उल्लेख छ । युवालाई लक्षित गरी उद्योग स्थापना र स्वरोजगारका अवसर सिर्जना गर्ने, व्यवसायमैत्री कानुनी व्यवस्था र दोहोरो कर प्रणाली अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ । विदेशबाट फर्किएका र पेन्सनमा रहेका राष्ट्रसेवक कर्मचारीका अनुभवलाई उत्पादन र विकासमा उपयोग गर्ने नीति पनि अघि सारिएको छ ।
सामाजिक सद्भाव र सुशासन
स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै नागरिकका समस्या समाधानमा सक्रिय भूमिका खेल्ने, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ गर्ने तथा सामाजिक सद्भाव कायम राख्ने अठोट व्यक्त गरिएको छ ।