वीरगञ्ज-कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि आज शनिबार बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिए। ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए।
निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ।
वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको मेयर सरावगीले जानकारी दिए। ५७ जना संक्रमित उपचारको क्रममा छन्।
शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ।