स्याङजा गल्याङको चोक भन्ने ठाउँ मा जन्मिएकी थिइन् गोमता डुम्रे। २००२ सालमा तीन जना दाइ र दुई दिदी पछि जन्मेकी आमाबुबाकी कान्छी छोरी हुन् उनी।
घरमा दुईहल गोरु र प्रशस्त बारी थियो। छोरी मान्छे भएपछि सानैदेखि घरको काममा सघाउनुपर्दथ्यो। तर दुई जना दिदीहरु भएकाले गोमतालाई कामको त्यति धेरै भार थिएन। ‘दिदीहरुको बिहेपछि भने काम बढ्यो, घाँस दाउरा, मेलापात, अर्मपर्ममा जानुपर्दथ्यो, साथीहरुसँग गाईवस्तु लिएर बनपाखा जान्थेउँ–बाल्यकाल सम्झँदै उनले भनिन्–‘गाईबस्तु बनपाखामा लगाइदिएर हामी दिनभरि, ढयाक्की खेल्ने, लोकबेसीका गीत गाउने गथ्र्यौं।’
गोमताले गाई लिएर जाने बनपाखामा अरु बेलाभन्दा तीजको बेला माहोल केही फरक हुन्थ्यो। गाइ बस्तु भिरपाखामा चरिरहन्थे यता गोमता र उनका साथीहरु चौरमा बसेर घरबाट लगेको भुटेको मकै र मोही, नुन खुर्सानी र काँक्रो खाँदै तीजका गित गाउँथे।
‘गाई चराउन जाँदा तीजका गित गाएको हिजो जस्तै लाग्छ’–उनले भनिन्।
तीज मान्न दुई जना दिदीहरु माइतीघर आउँदा गोमतालाई निकै रमाइलो लाग्थ्यो। दिदीले दिएको पैसाले नै उनी तीजमा लाग्ने मेला हेर्न जान्थिन्। ‘पाचँ मोहोर लिएर साथीहरुसँग मेला घुम्न जान्थेँ, त्यो पैसाले गुड, सखर, उखु, सेलरोटी खाएर पनि त्यसबेला दुई मोहोर बचेको थियो’–गोमताले भनिन्–‘अहिले हजार दुई–हजार भन्दा कम लिएर बजार जाने सोंच्न पनि सकिँदैन।’
तीज मान्न माइत आएका उनका दिदी र गाउँका अरु दिदीहरुले गीत गाउँदा गोमता पनि कम्मर मर्काइ मर्काइ नाच्थिन्। ‘सुख, दुख र बेदनाका गीत दिदीहरुले गाउँथे, तर म नाचें पनि त्यो बेला गीतले भनेको कुरा नै बुझ्दैन थिएँ’–उनले भनिन्।
दर खाने दिन आमाले झिलिंगाको खाजा, पोलेको तामा, खीर, पुवा, कर्कलाको अचारको परिकार बनाएको उनलाई सम्झना छ। बेलुका दर खाएर अगेनाको छेउमा आमा र दुई जना दिदी एक आपसमा बसेर दुखसुखका गफ गरेको सम्झँदै उनले भनिन्–‘त्यसबेला किन मलाई बेवास्ता गरेर दिदी र आमा साख्खै भएर गफ गरेका होलान् भन्ने लाग्थ्यो।’
गोमता ६ वर्षको हुँदा उनको ठूली दिदीको विवाह भएको थियो। जतिबेला दिदी १० वर्षकी थिइन्। अर्की दिदीको पनि त्यसै गरी विवाह भयो। गोमता पनि हुर्किदैं गइन्।
एक दिन मामाघर जाने भनेर फकाइफुल्याइ गरेर आमाले गोमतालाई नुहाइदिइन्। नयाँ गुन्यू चोली पहिर्याइन् र जग्गेमा राखिदिइन्। ‘ठूली दिदीलाई पनि आमाले त्यसरी नै फकाएर नुहाइदिएको, कपडा लगाएर जग्गेमा राखेको देखेकी थिएँ, बिहान झिसमिसैमा दिदीलाई अन्माइएको थियो–उनले भनिन्–त्यो देखेर मलाई पनि मेरो विवाह हुन लाग्यो भन्ने पत्तो पाएँ, साहिलो मुखियाको ठूलो छोरासँग मेरो विवाह हुन लागेको रहेछ।’
बाजागाजा सहित जन्ती लिएर आएकाले भोलिपल्ट बिहान गोमतालाई लिएर गए।
अन्माइएपछि जन्म घर पनि गोमताको लागि माइतीघर बन्यो। माइतीकी कान्छी छोरी भइन् उनी। विवाह गरेर गएको घरमा सासु–ससुरा तीन जना देवर, छ जना नन्दआमाजु रिझाउनुपर्ने दायित्व आइलाग्यो। आफ्ना दिदीहरुको जस्तै उनको पनि जन्मघर हरेक वर्ष तीज र अरु विशेष बेलामा मात्र आउने ठाउँ बन्यो।
विवाह पछिको पहिलो तीज आयो। माइती जाने सुरसार गरिन्। तीज आयो भनेर सरक्क हिड्न कहाँ पाइन्थ्यो र! ‘रातभरि धान कुटेर साता दश दिनलाई पुग्ने खर्च बनाएर मात्र तीज मान्न माइत गएँ’– गोमताले भनिन्–माइत जाँदा अघिल्ला वर्षको तीजमा गाई चराउन, मेलापात गर्न गएका पाखा र तीजका भाकाको सम्झना आयो।’
विवाहपछि मात्र उनले तीजको महत्व बुुझ्न पाइन्, यो पर्व अझ रमाइलो लाग्यो। ‘उहिले गीतका भाव नै नबुझेर तीजको गीतमा नाँचेकी थिएँ, विवाह भएपछि मात्र गीतका भाव र मर्म बुँझे’–गोमताले सम्झिन्–‘बेलुका अगेनाको छेउमा आमा र दिदीहरु के कुरा गरेहोलान् जस्तो लाग्थ्यो, बिहेपछि मसँग पनि आमाले कुरा गर्न थालिन्।’ घरव्यवहार र सुखदुखका कुरा हुँदारहेछन्।
तीजमा पहिलो पटक माइत जाँदा गोमतासँग धेरै समयदेखि देख्न नपाएका साथीहरु भेट भए। साथीहरु जम्मा भएपछि तीज गीत सुरु भयो।
सगैँ गको तिमी र म,
गाईवस्तु हेर्नलाई,
बिर्सियौ कि सखिले,
याद छ कि छैन बरिलै ।
त्यस बेला गाएको यो गीतलाई थप अथ्र्याउँदै गोमताले भनिन् ‘माइतमा सँगै खेलेका हुर्केका साथीहरुलाई बिर्सनै सकिँदैन। कतिपयसँग वर्षौ भयो भेट नभएको तर पनि उनीहरु मनमै छन्।’
माइतमा दिदीबहिनी जम्मा भएर सुख, दुखका कुरा हुन्थे। कुरा मात्र होइन गोमता र उनका साथीहरुले कर्म घरमा पाएका दुख र पिडालाई गीतै बाट यसरी व्यक्त गर्दथे।
घुरुघुरु मकै दले धुरुधुरु रोएर
भात छैन भन्छेउ बजै भान्से भएर।
तरकारी पकाउँछेउ करेलाको चाना
भात खान जाँदाखेरि आटाका चाना।
घरमा हुँदा दिनभर मेला गएर घर फर्किदा साँझ कसौडीमा खाना हुदैन्थ्यो। चुलोचौको सकेर भुटेका मकै खाएर धेरै रात बितेको गोमताले सुनाइन्। घन्टौ हिडेर पिसानी गर्न घट्टमा पुगेको अनि दिनभर पालो नआएर घट्ट मै रात काट्नुपरेको अनुभव पनि उनीसँग छ। यो दुख र पिडालाई गोमताले त्यसबेला यसरी तीजको भाका बनाएकी थिइन् ।
सबैरै हो घट्ट गको धान, कोदो कुट्नलाई
कुटीसक्दा रात पर्यो आएनन् खोज्नलाई ।
सासु मेरी होईन रैछिन्, लोग्ने मेरो होईनछन्
अन्मिएको माईती गाउँ टाढा बरिलै ।
‘वर्षभरिका मनका भावनाहरुलाई तीजमा गीत मार्फत पोख्ने गर्दथ्यौं, अरु बेला विसाउन नपाएका मनका बहहरु गीत गाउँदा आफै निस्किन्थियो’–गोमताले सम्झिइन् ।
माइतीमा दर खाने दिन तप–तप घिउ चुहिने गरी उनकी आमाले खाजा बनाउँथिइन्। ‘हामीले निमराको पातमा खाजा खान्थ्यौं, पुवा, खीर, गाबा, पोलेको तामा खान्थ्यौं’–उनले भनिन्–‘राती अबेरसम्म गन्थनमन्थन गर्दै बस्थ्यौं, मध्यरातमा फेरि खीर खाएर सुतिन्थ्यो।’
हरितालीका तीजको दिन बिहान नुहाई धुवाई गरी निरहार भएर शिवजीको पूजा गरी आफ्नो पतिको दिर्घायुको लागि भन्दै ब्रत बस्थिन्।
ऋषि पञ्चमीको दिन बिहानै खोलामा गएर नुहाउने, तीन सय पैसट्ठी दतिवन टोक्ने गरिन् उनले।
नुवाइधुवाइ गरेर दिउसो ऋषिपञ्चमीको पूजा हुन्थ्यो। पञ्चमीको काम सकिएपछि गोमताको माइतबाट घरजाने सुरसार शुरु हुन्थ्यो । ‘छोरीहरुलाई पठाउन पाहुर पोको बनाउन आमालाई हतारहतार हुन्थ्यो। डालोभरी सेल बनाएर, डोलेलाई छोड्न पठाउनु हुन्थ्यो,–उनी भन्छिन्–तीज मानेर घर आएपछि कामको उही पसारो।’
विवाह पछिका केही तीज त गोमताको लागि रमाइलो थियो । यसैगरी माइत आउने रमाउने गरिन्। तर त्यो क्रम धेरै समय रहन पाएन। विवाह भएको ६ वर्षमै उनको सिउँदो पुछियो। उनका पति बिते। अरु समस्याले पनि छोप्दै गयो।
‘श्रीमान बित्दा एक छोरा एक छोरी थिए, छोरी पनि केही दिनका लागि आएकी रहिछन्, सासु आमा बित्नुभयो, लगत्तै ससुरा खस्नुभयो–गोमताले भावुक हुँदै भनिन्–पाँच वर्षको अवधिमा धेरै कुरा बदलियो, क्रिया कर्म गरेरै मेरा ती दिन बिते।’ २०–२१ वर्षको कलिलो उमेरमै उनी तमाम समस्यासँग जुध्नुपर्यो। पारिवारिक जिम्मेवारी थपियो, तनाव बढ्यो, शरीर पनि सिथिल बन्दै गयो। समस्या र पीडा सुरु भएसँगै उनलाई तीज पनि खल्लो लाग्न थाल्यो।
रुन मलाई पर्यो, दाई भएर के रह्यो ।
भईराछ जे हुने, किन रुन्छ मन पनि ।
पीडामा पर्दा गोमतामा यस्ता तीजका गीतहरु व्यक्त भए। ७५ वर्ष पूरा गरेकी गोमताको लागि विगतको तीज केही रमाइलो, उत्साहपूर्णसँगै पिडादायी कष्टपूर्ण पनि रह्यो।
समयसँगै तीज मान्ने शैली र संस्कार पनि परिवर्तन हुँदै गएको छ। ‘जीवनमा थुप्रै सुखदुख, आरोह र अवरोह भोगें, हिजो भोगेका ती दिन सम्झँदा आज मलाई नयाँ युगमा छु जस्तो लाग्छ’–गोमताले भनिन्।