बुटवल-तीज आयो, तीज आयो नाच्ने गाउने रहर छ
के गर्नु र कोरोनाको ठूलो कहर छ ।
सधैजस्तै तीज पर्व घुम्दै फिर्दै आको छ
विश्वभरि कोरोनाले सातो खाको छ ।
स्वदेशबासी, विदेशबासी सबैको नाममा
७७ साल तीजको शुभकामना ।
कति भाछन् संक्रमित, कति मृत्युवरण
प्रदेशमा बाँच्नु छैन के को कारण
यो कुनै खुला चौरमा महिला दिदीबहिनी भेला भएर गीत गाउँदै गरेका होइनन्। लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरु मिलेर तीजको मौकामा सन्देश फैलाउने गीत गाए।
अस्पतालको कोठाभित्र १०–१२ जना भेला भए। मास्क लगाए। मादल बजाएर शुरु गरे तीजका गीत।
फैलिन त कोभिड विश्वभरि फैलेछ
५ नम्बरको चासो लाइराछ ।
एकदुईजना भन्दाभन्दै समुदायमा आको छ
अझै कति फैलिने हो डर लाएको छ ।
डरैडरमा छन् स्वास्थ्यकर्मी। स्वास्थ्यकर्मीलाई समेत संक्रमण देखिएपछि एकखालको भयको वातावरण बनेको छ। त्यसैमाथि समुदायले अपहेलना गरेका खबरले झनै पीडामा छन् स्वास्थ्यकर्मीहरु।
अरु बेला तीजको रमझममा रमाउने महिला स्वास्थ्यकर्मी अहिले अस्पतालमा बिरामीको हेरचाहमा जुटिरहेका छन्।
‘बिहान एकछिन घरमै पूजा गर्दैछु, पूजा सकेर छिटै अस्पताल जानुपर्नेछ, एकजना बिरामीको मृत्यु भएको खबर आइसकेको छ,– घरमा पूजा गर्दै गरेकी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले लुम्बिनी टाइम्ससँग टेलिफोनमा भनिन्–अहिले त तीज मनाउने माहोल नै छैन, यस्तो बेलामा कसरी मनाउनु तीज।’
तीज मनाउने रहर अस्पतालमै कक्षमा पूरा गरे उनीहरुले। सँगसँगै सन्देश दिए आमसर्वसाधारणलाई।
थुकका छिटा हाछ्यु गर्दा यो रोग सर्दछ
सामाजिक दुरीको खाँचो पर्दछ।
बिनाकामै लखरलखर बाहिर बाहिर नडुलौं
हिड्नैपरे मास्क लाउन कहिले नभुलौं।
तीज आयो भनेर मनपरि नगरौं
आफ्नो आनीबानीलाई आफै सुधारौं।
यति कुरा ख्याल राखौं बाहिर गइ आएर
राम्रोसँग हात धुनु साबुन लाएर।
‘पहिले पनि हामीहरुले एनआइसीयूमा बच्चाहरुको स्याहारसुसारबारे यस्तै गीत बनाएका थियौं, पौडेल भन्छिन्–त्यसले राम्रो चर्चा पाएको थियो, राम्रो सन्देश पनि गएको थियो, त्यसबाटै प्रभावित भएकाले होला, प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि हामीलाई यस्तो प्रयास गर्न सकिन्छ कि भन्ने कुरा गर्नुभएको थियो, हामीले पनि सोंचेका त थियौं, तर अलि आँटेका थिएनौं, तर जे जसरी भयो, राम्रो भयो भन्ने लागेको छ।’
नर्सिङकै साथीभाइ मिलेर गीत लेखे, उनीहरुले नै मादल बजाए, उनीहरु नै नाचे, अनि भिडियो खिचे।
नर्सिङ इन्चार्ज ज्योति पौडेलको नेतृत्वमा नर्सहरू टीका भट्टराई, जमुना पन्थी, मीना पौडेल, माधुरी ज्ञवाली, कमला कार्की, कमला ज्ञवाली, विष्णु पन्थी, प्रतिमा श्रेष्ठसहितका १२ जना नर्स मिलेर गाएको यो गीत प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको दैनिक कोरोना अपडेटमा पनि देखाइयो।
‘माइती गएर, घरमै पनि रमाइलो गर्ने वातावरण भएन, यस्तो भयावह अवस्थाका कारण तीज मनाउने माहोल पनि छैन, मनाउनु आफैमा जोखिम पनि हुने भयो, पौडेलले भनिन्–त्यही मौकामा कोरोना भाइरसबारे सन्देश पनि जाओस् र जतिबेला पनि बिरामीकै उपचारमा खटिने हामी पनि केही रम्न सकौं भनेर यस्तो बनायौं।’
बिरामीको हेरचाह र उपचार गर्दैगर्दा २ घण्टाको समयमा तयार गरेको गीत हो यो। यसरी अस्पतालभित्रै गीत गाएर रमाएका स्वास्थ्यकर्मी फेरि काममै खटिएका छन्।
‘हाम्रो अस्पतालमा करीब २ सयजना नर्सिङमा कर्मचारी हुनुहुन्छ, हामी सबै आज तीजको दिन पनि काममै रहनेछौं, व्यक्तिगत समस्याले बाहेक कोही पनि घरमा छैनौं, सबै बिरामीकै सेवामा खटिएका छौं, पौडेलले भनिन्–कोही कोरोना अस्पतालमा संक्रमितहरुको उपचारमा खटिनुभएको छ, कोही यता प्रादेशिक अस्पतालमा आउने बिरामीलाई हेर्नुहुन्छ।’
तीज मनाउने रहरलाई मुठ्ठीमा च्यापेर काममा खटिएका उनीहरु गीतमै भनेका छन्–
कति छन् नि मनका इच्छा कति थिए चाहना
कोभिडमुक्त विश्व बनोस् शुभकामना।