टिकादेवी सापकोटाको अनुहारमा बुढ्यौलीका मुजा परिसकेका छन्। १९९९ सालमा गुल्मीको फोक्सिङमा जन्मिएकी उनका अनुहारमा अनुभवका रेखाहरु प्रष्ट देखिन्छन्।
उनको ११ वर्षमै बिहे भयो। अहिलेजस्ता गाडीघोडा थिएनन्। बोकेरै दुलही लैजान्थे। 'बिहेमा अन्माएर बिदा गरिदिएको सम्झिन्छु, उनी ६० वर्षभन्दा अघिका कुरा सम्झिन्छिन्-ससुराले बोकेर घर लैजानुभएको थियो।'
साडी लगाउन नजानेर हैरान। ११ वर्षमा पनि कसरी साडी लगाउन जान्नु। 'साडी लगाउन जानिनँ,उनले भनिन्-अरुले लगाएदिएको अलिअलि याद छ।'
घरमा बाबु नै निर्णायक हुन्थे। छोराछोरीको कुरा सुनिदैनथ्यो। बाबुले जे भन्थे त्यही हुन्थ्यो, त्यही गर्नुपर्थ्यो। 'बिहे गरेर घर जाँदा बाटोमा पुग्दा हावा लागेर जाडो भयो, थुरथुर कामेकी थिएँ,-उनी सुनाउँछिन्-हावाले उडाउला जस्तै भयो नि।'
श्रीमानका न दाजुभाइ न दिदीबहिनी। एक्लो छोरा। एकजना दिदीजस्ती महिला थिइन्। 'न नन्द भन्ने कोही छ न आमाज्यू भन्ने कोही छ, उनले भनिन्-सासु र ससुरा हुनुहुन्थ्यो, अनि एकजना दिदीजस्ती आइमाइ थिइन्।'
ती आइमाई त उनकै श्रीमानकी जेठी पत्नी रहेछिन्। उनले धेरै पछि थाहा पाइन्-उनी त सौता पो आएकी रहेछिन्। 'बिहे भएर आएपछि पनि थाहा भएन, कसैले केही भनेकै थिएन, पछि थाहा भयो कि उनी त मेरै श्रीमानकी जेठी श्रीमती हुन् भनेर, मैले जेठी दिदी भन्नुपर्ने रे।'
उनले थाहा पाइन्-पहिलो श्रीमतीबाट सन्तान भएनन् भनेर दोश्रो बिहे गरेका रहेछन्। उनी आएको तीन वर्षपछि जेठी दिदी बितिन्।
टिकादेवी १४ वर्षकी भइन्। टिकादेवीभन्दा १८ वर्षले जेठा थिए श्रीमान्। १४ वर्षमा उनी रजस्वला भइन्। 'भैसी बाँध्ने गोठमा १४ दिनसम्म लगेर राखे, घामको किरण देख्न हुन्न, आफुभन्दा ठूला उमेरका पुरुषलाई देख्न हुन्न भन्थे, उनी सम्झिन्छिन्-सासुले जे भन्नुहुन्थ्यो त्यही गर्थेँ, नाईनास्ती गर्ने कुरै थिएन।'
घरमै एक्ली बुहारी भएकाले पनि सासुले माया त गर्थिन्। तर त्यसबेला आफुभन्दा ठूलाको कुरामा मुखमुखै लाग्नुहुन्न, जवाफ फर्काउनुहुन्न भन्ने मान्यता थियो।
टिकादेवीलाई जन्म दिने आमा उनी ६ वर्षकी छँदा बितेकी थिइन्। 'आमाको माया कस्तो हुन्छ भन्ने त राम्रोसँग थाहै पाइन,-उनी भावुक हुन्छिन्-तर कर्मघरकी आमाले मलाई मेरै आमाको धोका पूरा गरिदिनुभयो, त्यसबेला सासुससुराको माया पाउने कुरा त ठूलो भाग्यको कुरा हुन्थ्यो, बुहारीहरु भनेपछि अरु घरमा काम कजाउने र होच्याउने, हेप्ने व्यवहार हुन्थ्यो।'
सासुका छोरी थिएनन्, टिकादेवीका आमा थिइनन्। दुवैले दुवैको चाहना र इच्छा पूरा गर्न पाएकोमा खुशी साट्थे।
'चाडबाडमा मिठोचोखो खान्थ्यौं, नयाँ कपडा किनिदिन्थे, मलाई खुशी नै थियो, उनले सुनाइन्।
उनले घरमा काम गरिनन्। तर बिहेपछिको घरमा भने कामको थुप्रो लागेको हुन्थ्यो। 'बिहानै अध्यारोमै उठेर घरको सबै काम सकेर खेतबारीमा काम गर्न जानुपर्थ्यो,-उनी भन्छिन्-पुरुषले घरको कुनै काम गर्नुहुन्न भन्ने थियो, मेरो श्रीमानले ढलेको सिन्को पनि उठाउनुहुँदैनथ्यो।'
ससुरा बर्मा गए। उनी उतै हराए। ससुराका सामुन्नेमा बुहारीले ठाडो शिर बनाएर हेर्न हुँदैनथ्यो। खाना पकाउँदा चोलो लगाएर पकाउन नहुने।
भान्सामा पातको घेरा लगाएर चोखो बनाएर पकाउनुपर्थ्यो।
'खाना खाँदा पनि शिर ठाडो बनाएर खान पाइदैनथ्यो, घुम्टोले टाउको छोपेर अनुहारसम्म ढाकिने गरी लुकेर खानुपर्थ्यो-उनले त्यसबेलाका परम्परा र अफ्ठ्यारा चालचलन सुनाइन्-ससुराले खाना खाएपछि हात धुन पानी लिएर उभिनुपर्थ्यो, हात धुने भाँडो पनि ल्याएर अगाडि राखिदिनुपर्ने चलन थियो।'
बिहे भएको ६ वर्षपछि उनले पहिलो सन्तान जन्माइन्-छोरी। जतिबेला उनी १६ वर्षकी थिइन्। त्यसपछि उनले १२ सन्तानलाई जन्म दिइन्। त्यसमध्ये ४ जना सानैमा बिते।
उनले यी कुरा सम्झिरहँदा तीज नजिकिदैछ। उनी बुटवलमा बसेर तीजका रमाइला पलहरुको याद गरिरहेकी छिन्।
भन्छिन्-'सानैमा बिहे भयो, सानैमा बालबच्चा भए, त्यसपछि तिनीहरुकै स्याहारसुसारमा जिन्दगी सकिएछ।'
सन्तानको माया र स्याहारसुसारमै भुलिन् उनी। आफ्ना लागि समय निस्किएन। 'घरधन्दामै बित्यो धेरै समय, तीजमा माइती पनि गइएन-उनी सुनाउँछिन्-माइतीघरमा आमा नहुँदा रित्तो लाग्छ छोरीचेलीलाई।'
तीजका कुरा कोट्याउँदा उनी बेखुशी भइन्। उहिलेका कुरा सुनाइन्-तीज आयो कि मन रुन्थ्यो, आमा म सानै छँदा बित्नुभयो, बा छउन्जेल दाईलाई लिन पठाउनुहुनथ्यो, दिदीहरु पनि आउँथे, दाजुभाउजु थिए रमाइलै हुन्थ्यो, घरमा सासु एक्लै हुने, नगइदिए पनि हुन्थ्यो जस्ता कुरा गर्ने गर्नुहुन्थ्यो।'
उनी दोधारमा हुन्थिन्। घरबाट जाउँ सासु बेखुशी। माइती नजाउँ, जान मन लागिरहेछ। नगए माइती पनि बेखुशी।
'तीज भनेपछि ३-४ दिनलाई पुग्ने घाँस काटेर, अगाडि नै गर्न मिल्ने र सकिनेजतिको काम सकेर माइती जानुपर्थ्यो, उनी त्यसबेलाका बाध्यता सुनाउँछिन्-३-४ दिनको काम अगाडि नै गरेपछि माइत जान पाइन्थ्यो।'
माइतीमा साथीसंगी भेट हुन्थे। कसका घर कस्ता, कसकी सासु कस्ती, ससुरा कस्ता, श्रीमान् कस्ता भन्ने कुरा हुन्थे।
कसैका पीडाब्यथा, कसैका खुशीका पोका फुकाइन्थे। अनि बन्थे तीजका गीत।
खेत बेचेर ऋण काडेर पाखुरीको भरैमा,
दिनुभयो बाबाले धनी घरैमा।
मै छोरीलाई सुख पाउन कर्मैले दिएन,
के थाहा बालाई धन हुनेको मनै थिएन।
पीडा र वेदनाका भारी बिसाउँथे साथीसंगी मिलेर। सुखदु:खका कथा बुनेर बन्दथे गीत। पोख्दथे मनमा गुम्सिएका वेदनाका कथा र व्यथा। सासुबुहारीका कुरा पनि गीतबाटै पोखिन्थे। सासुले माइत जान नदिएका र आमाले छोरी घर आउन नपाएका कुरा गीतबाटै आउँथे। घरमा भन्न नसकेका, आफुलाई मन नपरेका, पीर परेका सबै कुरा तीजका गीतमा गाइन्थ्यो।
बुहारी : तीजमा माइत नगएको चारै वर्ष भैसक्यो,
यसपालि त जाउ है बज्यै तीज आइसक्यो।
सासु : तै मोरीलाई बिहे गर्दा लाग्यो हाम्लाई ज्यादा ऋण,
के को माइत जानु पर्यो कोदो गोड्न हिड्।
तीजै आउँदा आउन पाइन जन्मिएको घरपनि
नपकाए हुन्छ आमा राती दरपनि।
कुइनामा चोट लागे झैं छोरीको घर छ हेर,
हातको पाली लाउदै बाले बाटो नहेर।
उतिबेलाका कुरा सुनाउन पाएकोमा फुरुङ्ग परिन टीकादेवी। 'माइती गएर मनाएको तीजको सम्झना त त्यति धेरै त छैन, तर कुनै कुनै बेलाका कुरा सम्झिदा खुशी लाग्दो रैछ-उनी भन्छिन्-सानोमा सँगै घरआगनमा खेलेका साथीसंगी भेट्न पाइने भो भनेर उत्पातै खुशी लाग्थ्यो नि, अब माइत जाने भनेपछि त धेरै दिन अघिदेखि जोश आउँथ्यो, त्यही जोशमा तीनचारदिनको काम एकदुइ दिनमै सकिन्थ्यो।'
सासुसँग बिदा मागेर माइती जाने। श्रीपञ्चमीको अर्को दिन घरमा आइहाल्नुपर्ने हुन्थ्यो।
'७-८ घण्टाको बाटो पैदलै हिँडेर माइती जाने, हिडेर आउने-उनले सुनाइन्-माइतीबाट घर जाने भनेपछि पाहुरका पोका पन्तुरा बनाउने र बोकेर जाने गर्थ्यौं, अलि धेरै भए बोक्ने मान्छे खोजेर पठाउँथे।'
घर आएपछि फेरि शुरु हुन्थ्यो उही दिनचर्या।
'यसरी नै बित्यो जिन्नगी, के के भोगियो भोगियो, अहिलेजस्ता जमाना कहाँ थिएर त्यसबेला, उनी सूचना र प्रविधिमा भएको विकासबारे संकेत गर्छिन्-त्यसपछि रेडियोमा तीजका गीत बज्न थाले, अनि टीभी आयो हेर्न पनि पाइने भयो, अहिले त मोबाइलमै जस्तो मन लाग्यो त्यस्तै हेर्न पाइँदो रहेछ।'
उनी मोबाइलमा तीजका गीत हेरेर सुनेर दंग छिन्। 'हेर्न मन परेन भने त्यसलाई हटाएर अर्को हेर्न मिल्दो रैछ, उनी भन्छिन्-यस्ता जमाना पो आए हेर्दाहेर्दै।'
उनी मोबाइलमा तीजका गीत हेरेर दंग थिइन्।
हे लाउन मन थ्यो जापानी सारी
टेबुलमा काइयो र ऐना छ।
बस्न पर्योइ मन मारी मारी
सोंचेझैं जिन्दगी रैनछ।
हाऽऽऽ सोंचेझैं जिन्दगी रैनछ।