बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमा पोष्ट गर्दै आफुलाई संक्रमण पुष्टि भएको जनाएका हुन्।
उनलाई लक्षण देखिएको छ। उनले ज्वरो र सुख्खा खोकी लागेको बताएका छन्। उनी होम आइसोलेशनमा छन्।
डा खनालले फेसबुकमा यस्तो लेखेका छन्:
म आफैं कोरोना संक्रमित बिरामी पो भएछु
दुइ दिनअघि भर्खरै कोभिड बिरामीको सेवामा लाग्ने भनेर कोरोना अस्थायी अस्पतालको लागि भनेर छनौट भएकी एक जना नर्सिङ स्टाफले मलाई मेसेज गरिन” डक्टर हजुरलाई थाहा छ कि छैन? अहिले हामी बाह्र जना स्टाफ धागो कारखानामा भर्ना छौं।” मलाई थाहा थियो-उनीहरु माथिको मुख्य अस्पतालको आइसीयूमा ट्रेनिङको क्रममा संक्रमित भएका थिए। तर एक्सरे हेर्दा खासै समस्या नभएको र सामान्य लक्षण भेटिएपछि भर्ना गरिएको थियो-बिशेष निगरानीमा राख्न। अहिलेको संकटमा सेवामा समर्पण गर्ने भनेर काममा आउनु ठूलो कुरा हो।
मैले मेसेज पाएपछि भनें-“म तिमीहरूलाई भेट्न आउँछु। चिन्ता नगर्नू, उच्च मनोबल राख्नू। अहिले समस्या भए भन्नू।” म अस्पतालको प्रमुखको जिम्मेवारीमा आएपछि अस्पतालका फाँटहरुमा प्राय: नियमित रूपमा पुग्ने बानी छ। किन किन अन्य कार्यालय प्रमुख जस्तो सहि गर्दै बस्ने बानी मन पर्दैन । तर बाध्यता छ, कहिलेकाँही भ्याइदैन। प्रशासन मेरो मन पर्ने क्षेत्र पनि होइन। राम्रो काम र परिवर्तनमुखी काम गर्दा पनि धेरैको तारो भइने।
अर्को दिन दिउसो म त्यहाँ गएँ। सबैलाई बाहिर बोलाएँ, सामाजिक दूरी राखेर कुरा गर्न भनें, मास्कको उचित प्रयोगको बारेमा हवाइजहाजमा एअर होस्टेजले हरेक पटक उद्घोषण गरेर सम्झाएजस्तै बताएँ, हातको सफाई बारेमा बुझाएँ। र, मायाले यी कलिला नानीहरूलाई स्वास्थ्यकर्मी संक्रमित हुनु भनेको कुनैआफ्नै हेल्चेक्याई हो भनेर गाली जस्तो गरें। मास्क फुकालेर बिरामीसँग कुरा गरेका थियौ कि ?, मोबाइलमा आफू आफूहरु सेल्फी र टिकटक बनाउन नजिक भएका थियौ कि ? हातको राम्रो सफाइ भएन कि ? सम्झाएँ।
फेरि भनें :”हेर गोठमा गोबर सोत्तर गर्नेहरुलाई कहिलेकाही जत्ति गरेपनि आफूलाई लाग्न सक्छ। यो चाहिं दुर्घटना हो। त्यस्तो मलाई पनि हुन सक्छ। आज तिमीहरूलाई गाली गरेर पर्सी भयो भने! केही छैन खट्ने र गर्नेलाई नै यस्तो हुने तर सावधानी अपनाम है। न आत्तिनू, तिमीहरूलाई कोरोना फ्री गराएर हामीले काम दिनेछौं। ”उनीहरू मेरो काउन्सेलिङ्ले खुशी भए जस्तो लाग्यो। अहिले उनीहरुको स्वास्थ्य लाभ भैराखेको छ।
तर कस्तो संयोग हो कुन्नि ? हिजों रातिदेखि मलाई पो ज्वरो आउन शुरु गर्यो, राति मध्यरातमा सुख्खा खोकीले अप्ठ्यारो पारेजस्तो भयो, जीउ दुखेर भारी भएकोमा शंकाले बिहान पीसीआर टेस्ट गर्न स्वाब दिएकोमा पोजिटिभ रिपोर्ट पो आयो। अहिले होम आइसोलेशनमा बसेको छु, फिजिसियन साथीहरूसँग समन्वय गरेर। वर्षमा खास गरी यो सिजनमा घाँटी दुख्ने हल्का जीउ दुख्ने त प्राय: हुन्थ्यो। कहाँबाट कोरोना घुस्यो, रनभुल्लमा छु। छिटै यसबाट पार पाएर काममा फर्किने छु।
मसँग गत ४- ५ दिनदेखि नजिक भएका कुनै पनि साथीहरुमा शंकाका लक्षण छन भने तुरुन्तै अस्पतालको फिभर क्लिनिकमा आई निशुल्क पिसिआर टेस्ट गराउनुहोला। समस्या नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशन तथा सरकारले भनेको SMS (S=सामाजिक दूरी, M= मास्कको उचित प्रयोग , हातको सफाइ)मा को सुरक्षा कवचमा रहनुहोला र लक्षण निस्किएमा तु. लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा सम्पर्क गर्नुहोला।
शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खाखोकीले आक्रान्त पार्दैछ। मेसेज जति गरेपनि हुन्छ। तर सकारात्मक होस्, जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाउँ।