भैरहवा–रुपन्देहीमा बुधबार ७३ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमित र संक्रमणमुक्त भएका १११ जनासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार साँझ ६ बजेसम्म ७ स्थानीय तह क्षेत्रका थप २६ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल र सिद्धार्थनगरमा २३/२३ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, देवदहमा ६ कञ्चनमा ३, सैनामैना र सियारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १४५० जना निको भएर फर्किसकेका छन् भने ७२९ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।