काठमाडौँ-अंग्रेजी वर्ष २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनामा नेपालमा विदेशी आगमन ७ लाख ३६ हजार ५ सय ६२ पुगेको छ ।
अध्यागमन विभागद्वारा जारी प्रारम्भिक तथ्यांकअनुसार, ८ महिनामा भारत, अमेरिका, चीन, बंगलादेश, बेलायत, अस्ट्रेलिया, श्रीलंका, थाइल्यान्ड, जर्मनी र जापानलगायत कम्तीमा ४० वटा देशबाट नेपाल आउने विदेशीको संख्या ७ लाख ३६ हजार ५ सय ६२ पुगेको हो ।
मासिक विवरण हेर्दा मार्चमा १ लाख २१ हजार ६ सय ८७ विदेशी आएको यो वर्षको सबैभन्दा बढी रेकर्ड हो । सबैभन्दा कम जुलाईमा ७० हजार विदेशीको नेपालमा आगमन भएको थियो । नेपाल सरकारले यो वर्ष १६ लाख पर्यटकको आगमन हुने प्रक्षेपण गरेको छ । त्यस्तै पर्यटन बोर्डले १३ लाख पर्यटक आगमन हुने प्रक्षेपण गरेको छ ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार, नेपाल सरकार र पर्यटन बोर्डले तय गरेका दुवै लक्ष्य प्राप्त हुन चुनौतीपुर्ण रहेको छ ।
कोरोना महामारीपछि नेपाल पर्यटन क्षेत्रमा ठूलो गिरावट आएको थियो । २०२०/०२१ मा विश्वव्यापी स्वास्थ्य संकटका कारण पर्यटक आगमन न्यूनतम स्तरमा पुगेको थियो । तर, २०२५ को तथ्यांकले नेपाल पर्यटन उद्योग पुनः सामान्य अवस्थामा फर्किरहेको बोर्डले जनाएको छ ।
नेपालको पर्यटन बजारको क्षमता विकास गर्ने उद्देश्य राखेर स्थापना भएको पर्यटन बोर्डले चालु वर्ष १ अर्ब ५९ करोड रुपैयाँबराबरको बजेट तर्जुमा गरेको छ । जसमा कम्तीमा ६० करोड रुपैयाँ बजार प्रवर्द्धन गर्ने रहेको छ ।