बुटवल । व्यावसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउँदै चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिँदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताउनुभयो ।
कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उहाँले बताउनुभयो । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उहाँले बताउनुभयो । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले व्यवसायीहरुले अव व्यापारको ट्रेन बदल्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले अवको व्यापार परम्परागत ढंगबाट चल्न नसक्ने भन्दै व्यापारको ट्रेन नबदल्ने हो भने अझै धेरै सटरहरु बन्द हुने बताउनुभयो । श्रेष्ठले उपभोक्ताहरुको रोजाई सुपरमार्केट र अनलाईन व्यापारतर्फ रहेकाले अव व्यवसायीहरु क्रमशः यस दिशातर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘थुप्रै व्यवसायीहरुले व्यवसायच लेन मन्दी आयो भन्नुहुन्छ तर भाटभटेनी जस्ता सुपर मार्केट हेर्ने हो भने मन्दी आएको देखिँदैन, व्यापार बढेको छ, बरु अब उपभोक्ता स साना सटर छाडेर सुपर मार्केटतर्फ केन्द्रित हुन थालेका छन् ।’ उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका श्रेष्ठले विश्व अर्थतन्त्रमा आएको परिवर्तनले नेपाली अर्थतन्त्रलाई पनि डो¥याएको तर त्यसअनुरुप नेपाली व्यवसायीहरु हिँड्न नसकेको बताउनुभयो । ‘अहिले प्रविधिलाई प्रयोग गर्दै व्यापार गर्नुपर्ने स्थिति आएको छ, अनलाइन व्यापापार फस्टाउन थालेको छ, किनकि अहिलेको युवा पिँढी त्यसतर्फ आकर्षित छ,’ उहाँले भन्नुभयो,‘तर नेपाली व्यवसायीहरुको व्यापार गर्ने तौर तरिका भने पुरानै ढर्राको र परम्परागत छ ।’
उहाँले पहिलेको जेनरेशनले आधुनिक व्यापारलाई अंगाल्न नसकेको र नयाँ जेनरेशन आफ्ना पुस्ताले गर्दै आएको व्यवसायमा रुचि नराखेर विदेश पलायन भैरहेको भन्दै यो पनि मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । श्रेष्ठले मुलुकको आर्थिक अवस्थामा परिवर्तन हुँदै नभएको जसरी भाष्य खडा गर्न खोजिएको भन्दै त्यो पनि सत्य नभएको बताउनुभयो ।
‘हिजो साइकल चढ्नेहरु आज गाडीमा हिँड्न सक्ने भएका छन्, यो आर्थिक अवस्थामा आएको परिवर्तन हो,’ उहाँले भन्नुभयो,‘तर परिवर्तनलाई आत्मसाथ नगरी असन्तोष मात्रै गर्ने प्रवृत्तिले भने नकारात्मक मनोविज्ञानको विकास गरेको छ ।’ उहाँले लुम्बिनी प्रदेशको आर्थिक अवस्था सुधार्न तीनवटा क्षेत्रलाई केन्द्रित गरेर विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कृषि, उद्योग र पर्यटनमा यो प्रदेशमा थुप्रै संभावना रहेकाले प्रदेश सरकार यस दिशातर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।