बुटवल । चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा लुम्बिनी प्रदेशका दुई ठुला भैरहवा र नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व असुली गरेका छन् । यी दुवै भन्सार कार्यालय साउनमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएका हुन् । रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट लक्ष्यको ८३.५४ प्रतिशत मात्रै राजस्व सङ्कलन हुँदा उता बाँकेको नेपालगञ्ज भन्सारमा ७३.६७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
भैरहवा भन्सार कार्यालयले साउनमा ८ अर्ब ७७ करोड २२ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ७ अर्ब ३२ करोड ८१ लाख ८२ हजार मात्रै सङ्कलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको साउनको तुलनामा यसवर्ष करिब १३ प्रतिशत बढी राजश्व संकलन भएको छ । आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो । भन्सार विभागले गत आव २०८०/०८१ को साउनमा भैरहवा भन्सार कार्यालयलाई ८ अर्ब २८ करोड ९६ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७८.३० प्रतिशत अर्थात् ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार राजस्व सङ्कलन गरेको थियो ।
बढी राजस्व असुली हुने मालसामानको आयात नै कम भएका कारणले त्यसको नकारात्मक असर असुलीमा परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख गौतमले बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा पहिलो महिनामा लक्ष्य भेट्टाउन नसकिएको बताए । ‘बेलहिया नाकाबाट सबैभन्दा बढी आयात हुने सवारीसाधन, पेट्रोलियम पदार्थ, फलामे ब्लेड, मार्बल, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात घट्दा राजस्व संकलनमा कमी आएको छ ।’ उनले भने ।
चालू आवको पहिलो महिनामा भैरहवा भन्सार हुँदै २० अर्ब ६८ करोड बराबर रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा कम हो । आव २०८०/०८१ को साउनमा यो भन्सार कार्यालय हुँदै २१ अर्ब ३३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।
चालू आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण पनि घटेको छ । चालू आवको पहिलो महिनामा १ अर्ब ७ करोड मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । गत आव २०८०/८१ को साउनमा यहाँबाट १ अर्ब १६ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले आर्थिक मन्दीका कारण क्रयशक्ति कम हुँदा भन्सारमा आयात र राजश्व घटेको बताउनुभयो । युवाको बढ्दो विदेश पलायनले पनि वस्तु आयातमा असर पारेको उहाँले बताउनुभयो । आयात घटेपनि निर्यातमा सुधार हुनुपर्ने हो तर जति हुनुपर्ने हो अझै हुन नसकेको उहाँले बताउनुभयो । सरकारले व्यवसायी मैत्री नीति तयार गर्दै जाने हो भने नेपालका धेरै उत्पादित वस्तु भारत सहित तेस्रो मुलुकमा निर्यात गर्न व्यवसायी उत्साहित भएको उहाँले बताउनुभयो । ‘हामीले आयातलाई कम गर्दै निर्यात बढाउन जरुरी छ । यसका लागि राज्यले उद्योगी व्यवसायी मैत्री नीति अवलम्बन गर्नुपर्छ । ब्याजदर छुट, लगानीको वातावरण तयार गर्न नीतिगत झन्झन्टको अन्त्य भएमा धेरै निर्यातजन्य उद्योग स्थापना गर्न उद्योगीहरू तयार छन्’, उहाँले भन्न्ुभयो, ‘पछिल्लो मजदुर नीति र चालू आवको बजेटले उद्योगी व्यवसायीलाई केही राहत मिलेको छ ।’
यस्तै, भैरहवा भन्सार कार्यालयले चालू आव ०८१/०८२ मा राजस्व संकलनको वार्षिक लक्ष्य १ खर्ब ९३ अर्ब ३२ करोड २५ लाख पाएको छ । गत आवमा लक्ष्यको ६३.२४ प्रतिशत अर्थात् ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यस्तैगरी बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आव ०८१/८२ को साउन महिनामा लक्ष्यको ७३.६७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ । २ अर्ब ४१ करोड ४६ लाख ६ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार मात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । भन्सार विभागले गत आवको साउनमा नेपालगञ्ज भन्सार कार्यालयलाई १ अर्ब ८१ करोड ३० लाख ८४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७८ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड ४० लाख ४४ हजार राजस्व सङ्कलन गरेको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयले चालू आव ०८१/०८२ मा राजस्व संकलनको वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार पाएको छ । गत आवमा लक्ष्यको ६३.३४ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड मात्रै राजस्व सङ्कलन गरेको थियो ।